
प्यारी दिदी,
सात समुन्द्र पारीबाट मुटु भरिको माया अनि अबिरल सम्झना ।
दिदी म यहाँ सन्चै छु । त्यहाँ पनि तपाइँ लगायत भान्जाहरु, भिनाजु सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु । खै किन हो दिदी आजकाल सदाको भन्दा धेरै गाउँ घर अनि तपाईंहरुको यादले सताउँछ ।
हुन त गाउँ घरमा चाडबाड आएको छ । यो समयमा अनलाइन, रेडियो र अन्य सामाजिक सञ्जालमा देउसी भैलो जस्ता तिहार झल्काउने गीतहरु बजिरहेका छन् । त्यसले गर्दा यो सदाबहार जीवनयापन गर्न बानी परेको बिदेशी मनलाई पनि भित्रैदेखि उत्साहित बनाउँछ । त्यो उत्साहले भौतारिएर तन कर्म भूमी र मन जन्म भूमी तिर बिभाजन हुन पुग्दो रहेछ । म अनायासै टोलाउन पुग्दो रहेछु । यदाकदा हराउन पुग्दो रहेछु । अनि आफ्नै मनको कल्पनामा चाडबाडको रौनकमा रम्न पुग्दो रहेछु । खै थाहा छैन कस्ले छेक्यो, रोक्यो यो बिदेशिलाई वास्तविक रुपमा चाडबाडसँग रम्नलाई ?
म त कस्तो काल्पनिक मान्छे जस्तो सधैँ कल्पनापुरमा गएर चाडबाड मनाउनु पर्ने ! दिदी, गाउँ घरमा त तिहारको रमझम बड्दै होला । टोल छिमेक अनि रन बन सबै तातेको होला है ? रङ्गिन सयपत्री अनि मखमलीका गुच्छाले रङ्ग्याइएको होला ।
साँझ बिहान गाउँका सबै जना जम्मा हुँदै विभिन्न किसिमका झ्याउरे गीत र देउसी भैलोका गीत गाउँदै दुई जना मिलेर दोहोरी गाउदा त आहा ! कति मज्जा आउँदो हो ।धेरै पटक भयो हजुरको हातको टीका लाउछु भनेको पनि । तर के गर्ने दिदी यहाँ बिदेशमा न समय आफ्नो हुन्छ, न निर्णय । यहाँ मान्छेको इच्छा र भावनासँग मतलब हुँदैन । यहाँ त बल र सामथ्र्य सँग मतलब हुँदो रहेछ ।
दिदी मलाई थाहा छ पक्कै हजुरले मलाई माफगर्नु हुने छैन । तर सम्झनाले अनि हजुरहरुको न्यास्रोले अतालिएको यो परदेशी मनलाई शान्त पार्न र हजुरको आत्मा सम्मानको लागी यो पत्र लेख्दै छु । यो परदेशमा बस्नु मेरो रहर हैन, बाध्यता हो भन्ने कुरा हजुरले बुझ्नु हुनेछ । म कसरी ब्यक्त गराैँ दिदी । यो समय अर्थात तिहारको समयमा यमलोकबाट यमराजपनि बहिनी यमुनासँग टीका लगाउन फुर्सद मिलाएका थिए भने, यहाँ त मलाई तिहार अनि हजुरहरुको सम्झनामा एउटा पत्र लेख्ने पनि समय मिल्दैन । दिदी म जहाँ भएपनि मैले आफ्नै जन्मभूमी अनि आफ्नो परम्परालाई भुलेको छैन । यो चाडबाडको बेलामा म बिदेशमा भएपनि, मैले हजुरको हातबाट प्रत्यक्ष टीका नलगाए पनि मेरो मन भित्रको काल्पनापुरमा पुग्छु र अप्रत्यक्ष वा काल्पनिक रुपमा मैले हजुरलाई भेटेर हजुरको हातबाट निधारमा सप्तरङ्गी टीका र कहिलै नओइलिने मखमलिको माला लगाएको हुन्छ अनि मन भरी आशीर्वाद लिन्छु ।
बिदेशमा पनि तिहार त आएको हुन्छ । म नेपाली हुँ त्यसैले म जहाँ गएपनी मेरो नेपालीपन अनि आफ्नो परम्परासँगै हुन्छ । त्यसैले आफ्नो परम्परालाई सदा जीवित राख्न भएपनि म समय मिलाएर सुटुक्क मनको रङ्गमञ्चमा कल्पनै कल्पनामा तिहार मनाउँदै छु । दिदी समय दुई किसिमको हुन्छ रे ! एक किसिमको समय आफ्नो बाहुमा नरहेको समय, अर्थात अरुप्रती समर्पित गर्नु परेको समय ।
जुन अहिले मैले गुजारी रहेको समय । यो समय सबै अरुको समय हो । जहाँ म अघोषित जेल भित्रको जीवन यापन गरिरहेको छु । अनि अर्को किसमको समय हो आफ्नै बाहुमा भएको समय जुन समयमा आफ्नै किसिमले रमाउन सक्छौं ।
भनिन्छ नी दुःख पछि सुख आउछ । अनि दुःख भएपछी मात्र सुखको अनुभुती हुन्छ । दिदी प्रतीक्षाको फल मीठो हुन्छ भन्छन् । म यो अघोषित जेल जीवनको करार अबधि सकेर आउने छु । अनि आफ्नै समय आफैले पाउने छु । त्यसपछि तिहार मनाउँला । सबै साथी भाइको साथमा देउसी भैलो खेल्न माथिलो बेसी टोल तिर जानेछाैँ । यतिन्जेलसम्म यो मनभित्र पालेका रहरहरु तेतिबेलै पूरा गरौंला । यो तिहार यस्तै भयो । अर्को सालको तिहार निकै खुसी साथ मनाउँला ल दिदी । यसपटकको तिहारमा हजुरहरु सबै मिलेर रमाइलो गर्नु होला । देउसि भैलो जस्तो रौनक बढाउने परम्परालाई नत्याग्नु होला । सबै जना मिलेर देउसी भैलो खेल्नु होला । अनि तिहार मनाई सकेपछि तिहार कस्तो भयो भन्ने कुरा मलाइ सुनाउनु ल ।
तिहारको दीप जस्तै अन्धकार चिर्दै बलिरहनु । अनि दिदी–भाइको आत्मीय सम्बन्ध सदा जीवित रहोस् भन्दै २०७३ सालको तिहारको हार्दिक मंगलमय शुभकामना ।
उही हजुरको मुग्लानी भाई
दिपक हाल,अरब
No comments:
Post a Comment