Friday, 28 October 2016

दिदीलाई चिठि

प्यारी दिदी, सात समुन्द्र पारीबाट मुटु भरिको माया अनि अबिरल सम्झना । दिदी म यहाँ सन्चै छु । त्यहाँ पनि तपाइँ लगायत भान्जाहरु, भिनाजु सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु । खै किन हो दिदी आजकाल सदाको भन्दा धेरै गाउँ घर अनि तपाईंहरुको यादले सताउँछ । हुन त गाउँ घरमा चाडबाड आएको छ । यो समयमा अनलाइन, रेडियो र अन्य सामाजिक सञ्जालमा देउसी भैलो जस्ता तिहार झल्काउने गीतहरु बजिरहेका छन् । त्यसले गर्दा यो सदाबहार जीवनयापन गर्न बानी परेको बिदेशी मनलाई पनि भित्रैदेखि उत्साहित बनाउँछ । त्यो उत्साहले भौतारिएर तन कर्म भूमी र मन जन्म भूमी तिर बिभाजन हुन पुग्दो रहेछ । म अनायासै टोलाउन पुग्दो रहेछु । यदाकदा हराउन पुग्दो रहेछु । अनि आफ्नै मनको कल्पनामा चाडबाडको रौनकमा रम्न पुग्दो रहेछु । खै थाहा छैन कस्ले छेक्यो, रोक्यो यो बिदेशिलाई वास्तविक रुपमा चाडबाडसँग रम्नलाई ? म त कस्तो काल्पनिक मान्छे जस्तो सधैँ कल्पनापुरमा गएर चाडबाड मनाउनु पर्ने ! दिदी, गाउँ घरमा त तिहारको रमझम बड्दै होला । टोल छिमेक अनि रन बन सबै तातेको होला है ? रङ्गिन सयपत्री अनि मखमलीका गुच्छाले रङ्ग्याइएको होला । साँझ बिहान गाउँका सबै जना जम्मा हुँदै विभिन्न किसिमका झ्याउरे गीत र देउसी भैलोका गीत गाउँदै दुई जना मिलेर दोहोरी गाउदा त आहा ! कति मज्जा आउँदो हो ।धेरै पटक भयो हजुरको हातको टीका लाउछु भनेको पनि । तर के गर्ने दिदी यहाँ बिदेशमा न समय आफ्नो हुन्छ, न निर्णय । यहाँ मान्छेको इच्छा र भावनासँग मतलब हुँदैन । यहाँ त बल र सामथ्र्य सँग मतलब हुँदो रहेछ । दिदी मलाई थाहा छ पक्कै हजुरले मलाई माफगर्नु हुने छैन । तर सम्झनाले अनि हजुरहरुको न्यास्रोले अतालिएको यो परदेशी मनलाई शान्त पार्न र हजुरको आत्मा सम्मानको लागी यो पत्र लेख्दै छु । यो परदेशमा बस्नु मेरो रहर हैन, बाध्यता हो भन्ने कुरा हजुरले बुझ्नु हुनेछ । म कसरी ब्यक्त गराैँ दिदी । यो समय अर्थात तिहारको समयमा यमलोकबाट यमराजपनि बहिनी यमुनासँग टीका लगाउन फुर्सद मिलाएका थिए भने, यहाँ त मलाई तिहार अनि हजुरहरुको सम्झनामा एउटा पत्र लेख्ने पनि समय मिल्दैन । दिदी म जहाँ भएपनि मैले आफ्नै जन्मभूमी अनि आफ्नो परम्परालाई भुलेको छैन । यो चाडबाडको बेलामा म बिदेशमा भएपनि, मैले हजुरको हातबाट प्रत्यक्ष टीका नलगाए पनि मेरो मन भित्रको काल्पनापुरमा पुग्छु र अप्रत्यक्ष वा काल्पनिक रुपमा मैले हजुरलाई भेटेर हजुरको हातबाट निधारमा सप्तरङ्गी टीका र कहिलै नओइलिने मखमलिको माला लगाएको हुन्छ अनि मन भरी आशीर्वाद लिन्छु । बिदेशमा पनि तिहार त आएको हुन्छ । म नेपाली हुँ त्यसैले म जहाँ गएपनी मेरो नेपालीपन अनि आफ्नो परम्परासँगै हुन्छ । त्यसैले आफ्नो परम्परालाई सदा जीवित राख्न भएपनि म समय मिलाएर सुटुक्क मनको रङ्गमञ्चमा कल्पनै कल्पनामा तिहार मनाउँदै छु । दिदी समय दुई किसिमको हुन्छ रे ! एक किसिमको समय आफ्नो बाहुमा नरहेको समय, अर्थात अरुप्रती समर्पित गर्नु परेको समय । जुन अहिले मैले गुजारी रहेको समय । यो समय सबै अरुको समय हो । जहाँ म अघोषित जेल भित्रको जीवन यापन गरिरहेको छु । अनि अर्को किसमको समय हो आफ्नै बाहुमा भएको समय जुन समयमा आफ्नै किसिमले रमाउन सक्छौं । भनिन्छ नी दुःख पछि सुख आउछ । अनि दुःख भएपछी मात्र सुखको अनुभुती हुन्छ । दिदी प्रतीक्षाको फल मीठो हुन्छ भन्छन् । म यो अघोषित जेल जीवनको करार अबधि सकेर आउने छु । अनि आफ्नै समय आफैले पाउने छु । त्यसपछि तिहार मनाउँला । सबै साथी भाइको साथमा देउसी भैलो खेल्न माथिलो बेसी टोल तिर जानेछाैँ । यतिन्जेलसम्म यो मनभित्र पालेका रहरहरु तेतिबेलै पूरा गरौंला । यो तिहार यस्तै भयो । अर्को सालको तिहार निकै खुसी साथ मनाउँला ल दिदी । यसपटकको तिहारमा हजुरहरु सबै मिलेर रमाइलो गर्नु होला । देउसि भैलो जस्तो रौनक बढाउने परम्परालाई नत्याग्नु होला । सबै जना मिलेर देउसी भैलो खेल्नु होला । अनि तिहार मनाई सकेपछि तिहार कस्तो भयो भन्ने कुरा मलाइ सुनाउनु ल । तिहारको दीप जस्तै अन्धकार चिर्दै बलिरहनु । अनि दिदी–भाइको आत्मीय सम्बन्ध सदा जीवित रहोस् भन्दै २०७३ सालको तिहारको हार्दिक मंगलमय शुभकामना । उही हजुरको मुग्लानी भाई दिपक हाल,अरब

Monday, 10 October 2016

मन गुल्मी तिरै

भोलि दसै । नेपालीहरुले आफूभन्दा ठूलाको हातबाट टीका आशीर्वाद थाप्ने दिन । यतिबेला म साउदी अरब दसैको उत्साह खोज्ने निरर्थक प्रयासमा गरिरहेको छु । तन साउदी अबरमा भए पनि मन गाउँघरमै छ । घरिघरी गाउँ सम्झिरहेको छु । घरको यादले निकै सताइरहेको छ । दसैको दिनको रौनकतामा मन झुलिरहेको छ । भुल्न खोज्छु–सकिरहेको छैन, दसैँको रौनकता । सम्हालिन खोज्दा पनि सकिरहेको छ्रैन । किनकिन मन भारी भइरहेको छ । बिगतका दृश्य–परिदृश्यहरु मानसपटलमा चलचित्रको पर्दामा झैं नाँचिरहेका छन् । भोलि टीका को साईत पुर्कोट कोट को मेला गएर फर्किदा रात को ९,१० नै बजि सकेको थियो त्यसै माथी साथी संग रमाईलो गर्दा सुत्न लाई अल्लि अबेर नै भएछ क्यारे" उठने बेला भयो उठ्न को थाह अनै छैन, रात भरी डुल्छ" आमा को यहि आवाज सगै ब्युझिदा बिहान को १०;१६ भै सकेको रहेछ,म उठेर छिटो छिटो तयार भैइ सक्दा उता आमाले सबै तयारी गरि सक्नु भएको रहेछ, हामी तीन भाइ र एउटि दिदी पुर्ब तिर फर्केर लहरै बस्यौं क्रमशः दा,दिदि पछि आमा को हात रातो टीका सङै मेरो निधार मा आई पुग्छ..... एक्कासी मोवाइलको रिङ टोनले झस्काउँछ । मोवाइल हेर्छु छिटोछिटो मोवाइल हेरेको फोन घरबाट आएको रैछ । उठाउँछु, भन्दाभन्दै फोन सम्पर्कबिच्छेद भइसक्छ । सायद् आमाको फोन हो । यहि अनुमान लगाउँछु । घरको छोरा छोरी घरमा नहुँदा खल्लो महसुस भइरहेको हो । मलाई जस्तो घरमा पनि भइरहेको होला । आमा मलाई सम्झिएर बसिरहनुभएको होला । कति रमाइलो होला गाउँघरमा । गाउँका साथीहरु मिलेर दसैको तयारीमा जुटिरहेका होलान् । म कता–कता हराउन पुगेछु । साथी डिउटी जाने तयारी गर्दा घात्राङ्ग घुत्रुङ्ग मधुरो आवाज सङै । नजिकै आएर चिच्याएर बोलाउँदा झल्यास्स हुन्छु घडी ले पनि बिहान को ०५;५५ बजाई सकेछ आर्लाम को टोन सङै निद्रा खुल्छ हतार हतार मा बिस्तारा मिलाई नुहाउने तयारीमा जुट्छु । बाथरुम खाली छैन । पुनःघडी हेर्छु घडिले ०६;०५ पनि वजेको छ घडी का सुई पनि आ आफ्नै रफ्तार मा कुदि नै रहेका थिए । घरमा हुँदो हुँ त, आमा ढोका ढकढकाउन आइपुग्नुहुन्थ्यो यतिबेला । यहाँ कसले ढकढकाओस् ढोका । कसले जानकारी देओस् ढिलो–चाँडोको । यतिबेला घरमा हुँदो हँु त दसैको तयारीमा जुट्नुपथ्र्यो । फगत यहाँ कहाँ पाइयोस् दसैको तयारी गर्न । तर, त्यसो छैन । साउदी अरब को saudi vitrifiy cly pipe कम्पनीको भिल्लाको कोठामा घर सम्झेर बसिरहेको मैले दसैँको तयारी गर्न कहाँ पाउनु । हरेक दिन बिहानै हुने हल्ला आज पनि जारी छ । बिहान सबेरै उठ्यो । हतार हतारमा उठ्यो नुहाउनका लागि लाइनमा बस्यो नास्ता को लागि पनि लाईनमै बस्यो दैनिकी यो भन्दा केही घटबढ छैन । आजभोलि जताततै दसैको चर्चा देख्छु र सुन्छु विभिन्न सञ्चारमाध्यमदेखि लिएर सामाजिक सञ्जालहरुमा पनि । तर, हामी प्रदेसीहरुलाई के को दसँै केको तिहार सधँै उस्तै छ । बिहानै खबुस्स बोक्यो डिउटी हिड्यो सानो गल्ती गरे पनि सुपर्भाईजर कराउँछ । बादविवाद गर्न खोज्यो भने १ हप्ताको ससबेन्ड हालिदिन्छ । घाटा आफैलाई १0 देखि १२ घण्टा उभियर यसरी थाकिएको हुन्छ अनि त्यसैमा दमन सहेर बाँच्नु पर्दा धेरै दुःख लाग्छ । रोक्दा रोक्दै पनि आँशु झर्छ। फेरि सम्झना घरकै आउँछ, आमाले सानो गाली गर्दा पस्केको भात पनि फालेर सुतिन्थ्यो, एकैछिन पछि आमा आएर सम्झाउनु हुन्थ्यो र कहिलै गाली नगर्ने सर्तमा खाना खुवाउनु हुन्थ्यो । तर, यहाँ बिरामी परेर ओछ्यानमा पर्दा पनि पानी तताएर दिने कोही हँुदैन । अरु त अरु छुट्टी पनि पाइदैन । बिरामी भएर मर्नै लागे पनि काम गर्नैपर्छ । मैले गुल्मी छोड्दा २०६९ भदौ को अन्तिम थियो दसै तिहार को चहलपहल बढ्दै थियो । आउँदै गरेका चाडवाड पनि मनाउन नपाएर बिदेश आएँ–थुप्रै सपनाहरु सँगालेर । तर, यहाँ आएपछि सबै उल्टो भएको छ । न त भनेको काम पाइयो, न त दसै नै भयो । हुन त नेपाल छोडेर आएपछि मजस्ता लाखांै नेपालीहरुको यहि बाध्यता छ । अरु समयभन्दा चाडपर्वहरु आउँदा धेरै दुःख लाग्छ । यति धरै नेपाली हरु कार्यरत देस मा चार्द बाड मा एक दिन छुट्टी दिए पनि आ आफनै तरिका ले मनोरञ्जन गरेर त मनाउथे होला हुन त मुस्लिम कठोर देस मा के पो सोच्थ्यो र अचम्म लाग्छ कतिसम्म हेला गर्न सकेको होला प्रदेशमा नेपालीहरुलाई । त्यहि कम्पनीमा जना विभिन्न देस का मुस्लिम हुन्छन् र पनि उनीहरुलाई वर्षमा दुई पटक ५/५ दिन ईद र बक्रैइदको अबसरमा दछुट्टि हुन्छ । तर, त्यही कम्पनी जहाँ सय २ सय सय नेपाली कामदार हुन्छन्, तिनै नेपालीहरुको दसै तिहार जस्ता महान चाडमा १ दिन पनि छुट्टि हँुदैन । आज गाउँघरको धेरै याद आएको छ । मलाई थाहा छ प्रदेशीको दसै यस्तै हो । सधँै बिहान उठ्यो, हतारहतार लाइनमा बसेर नुहायो, नास्ता खायो ड्यूटी गयो, अनि फेरि दिनभरि गाली खायो । साँझ थाकेर कोठा फर्कियो फेरि फेरि त्यही हल्ला, त्यही होस्टेल त्यही कोठा त्यही कम्पनी त्यही काम , त्यही गाली यहाँ यहि हुन्छ हो यहि हो मेरो दसै प्रदेसीको दसै....... मुग्लानी दिपक

Wednesday, 5 October 2016

अधुरो दसै :~ मुग्लानी दिपक

यस पाली को दसै मनाउने रहर पनि अधुरै रहने पक्का भयो हरेक साल दसै आउदा आर्को दसै मनाउन घर मा आउछु भन्दा प्रदेसमै कयौंं दसै बितिसके, यति बेला गाउँ घर चार्ड्बाडमय बनेको छ होला,म उकाली ओराली गर्ने बाटोमा लेउ र बनमारा सुक्दै जान थाले होलान,पाटाका काल्ना भरी रोपेका मखमली ,गुर्धौली र बाह्रमासे फुल फुलेर रातम्य भएका छ्ब होला, तर मेरि आमा ले अझै पनि पसिना चुहाउदै घाँसको भारी बोकेर खाली खुट्टा उकालो~ओरालो गर्दै हुनुहुन्छ होला र अझै पनि पाईतालाले कुल्चिएको हरेक कुल्चाईमा सन्तानको दु:ख कुल्चिएको महसुस हुन्छ होला तर पनि आंगनको डिलमा बसी क्षितिजसम्म हेर्दै मेरो प्रतिबिम्बको याद गर्दै हुनुहुन्छ होला मैले हरेक फोनमा आमाका शब्दले निसब्द हुन्छ म सङ्ग जफाफ हुदैन किनभने मैले हरेक सालको दसैमा झुटो बोल्ने गरेको छु," म पुनः हिड्ने बिदेस बेलामा कति बिदेस जानू पर्यो अब यहि बसे हुन्न र"यो शब्द कानमा गुन्जिरहन्छ. यो दसै पनि म बिना नै मान्नु होला आगामी दसैमा मलाइ कुनै शक्तिले पनि रोक्ने छैन दुर्गामाताले आशिर्वादले हामी सबैको कल्याण हुनेछ ! प्रणाम!! मुग्लानी

Tuesday, 4 October 2016

एउटा खसीको आत्मकथा

हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट ।’ हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि । मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला । कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न । सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु । हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे । म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’ म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’ त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्‍यो । म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साउनीले पछाडिका खुट्टा च्याप्प समाती । त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्‍यो होला । म मरेसरी भएँ । भुतुक्क भएँ । म्याँ म्याँ गरेर चिच्याएँ । यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ । साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो ।’ जिन्दगी बेकार भयो मेरो । खालि वनमा चर्न जाने । घाँस खाने । खोरमा आउने । खोले खाने । सुत्ने, बस् । वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनीतरुनी बाख्रीहरु खुब मस्किन्छन् । दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको । ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ । आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन् । हेर्दासम्म पनि हेर्दैनन् । बोकाको त गन्ध पनि आउँदो रहेछ । त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन् । खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ । बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो । म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न । ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए । यसपालि पानी पनि धेरै पर्‍यो भन्छन् । हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि । बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो । डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो । मान्छेहरु दसैँ लाग्यो भन्दै थिए । गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए । हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ । गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले । खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे । आज लगेनन् । कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ । हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो । साहूको आँगनमा चार–पाँच जना मान्छे आए । हामीलाई खोरबाट झिकेर उचाल्न थाले । मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु ।’ साहूले भन्यो, ‘१८ देऊ ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु ।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो । हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन् । भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए । केही बेर चिच्याएँ म । हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी । एकछिन हिँडेपछि बसको छतमा तानेर राखे । त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले । कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो । एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो । कहिले यताबाट उता हल्लाउँछ । कहिले उताबाट यता हल्लाउँछ । हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ । छतमा मलाई साह्रै गाह्रो भयो । बसबाट फेरि खुट्टा समातेर तल खसाले । बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो । उसलाई समातेर लिएर गए । दाइ मलाई हेरेर ‘बाई बाई...’ गर्दै गयो । दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ । सायद दाइ पनि म्याँयाँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन । झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र... । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ । किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन् । हामी धेरै ठाउँबाट आएका रहेछौँ । मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन् । उनीहरुका कान लामालामा थिए । तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ । हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो । पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो । मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी ! एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ । साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ । आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु । पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा । हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दाे रहेछ । म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एक दिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो । मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइदेखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघारचोटि त पहिल्यै मरिसकेँ । दसैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म । जस्तो : पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दु:ख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान । मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो... म्याँऽऽ

दसै विशेष गजल

बर्षाै देखिकाे अन्धकार त्याे ,हटाउन सक्दिन अाँमा,, यसपालीकाे दशैमा पनि ,घर अाँउन सक्दिन अाँमा,, नमुछे टिका नछरे जमरा,परदेशी छाेरालाई भनि जमरा र राताे किटा,निधारमा लाँउन सक्दिन अाँमा,, पाेहाेर पनि झुक्याए अाँमा,अर्काे साल अाँउछु भनी यसपालीनी झुक्याउदैछु ,छुट्टी पाँउन सक्दिन अाँमा,, नहुदाे रहेछ अाँमा ,साेचेकाे जस्ताे,परदेशकाे ठाँउमा त्याे दुखी मनमा ,लिएर खुसी ,छाउन सक्दिन अाँमा,, भन्छेउ अाँमा रमाइलाे गरि ,मनाउनु है दशैँ र तिहार बिरानाे ठाँउमा,धेउँसी र भैलाे ,गाँउन सक्दिन अाँमा,,