गंगा खड्का
अग्लुङ (गुल्मी) : गाउँपालिका पुग्ने सडक अप्ठ्यारो भएपछि गुल्मीको दुर्गम गाउँ अग्लुङका स्थानीयलाइ गाउँपालिकाको कार्यालय पुग्न सकस पर्ने गरेको छ । मदाने गाउँपालिका–१ मा पर्ने उक्त गाउँ विकास निर्माणले सधैँ पछाडी पर्ने गरेको स्थानीयको गुनासो छ । पुर्कोटदह–बाझकेटरीहुँदै अग्लुङफेदी पुग्ने सडक सँधैको बर्खामा ठप्प हुने गरेको छ । सरकारी कामकागजले गाउँपालिकाको कार्यालय पुर्कोटदह र सदरमुकाम तम्घास पुग्न स्थानीयलाई धौधौ पर्ने गर्छ ।
गुल्मीको दुर्गम क्षेत्रमा पर्ने अग्लुङफेदी । तस्विर : गंगा खड्का
‘गाउँपालिकामा जान धेरै गाह्रो हुन्छ’,स्थानीय एवं रगुफेदी निमा प्रतिमान मावीका प्रधानाध्यापक राजुचन्द्र बोहोराले भने,‘विकास निर्माणमा सधैँ पछाडी छौँ ।’ वर्षौ अघिदेखि सडकको ट्¥याक खुलेपनि स्तरोन्नती नहुँदा धेरै समस्या परिरहेको उनको गुनासो छ । स्थानीयले जिल्ला सदरमुकाम तम्घास पुगेर कामकाज गरी घर फर्कन दुई दिन लाग्ने गरेको छ । नियमित जिप संचालन हुन नसक्दा बर्खाको समयमा धेरैसमय स्थानीय पैदल हिडेर पुर्कोटदह पुग्ने गरेका छन् । अग्लुङबाट गाउँपालिका केन्द्र पुर्कोटदह पुग्न २४ किलोमिटर पैदल हिड्नुपर्ने बाध्यता रहेको स्थानीयले सुनाए ।
अग्लुङ गाउँ । तस्बिर : नारायण घर्ती
अग्लुङका अधिकांश नागरीकहरुको बजार गर्ने थलो प्यूठानको विजुवार, बाग्दुला क्षेत्र भएपनि सरकारी कामकाजका लागि गाउँपालिका केन्द्र र सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । तम्घासभन्दा प्यूठान पुग्ने सडक धेरै सहज भएको अग्लुङका स्थानीय ७७ वर्षिय विर बहादुर चन्द्र बोहोराले बताए । उनका अनुसार अग्लुङफेदीमा २०५४ सालमा प्यूठानबाट ट्याक्टर आएको थियो । ‘धेरैपटक सडक स्तरोन्नती गर्न आवाज उठायौँ’,उनले भने,‘२०६३ सालमा गाउँमा तम्घासबाट जिप आएको थियो । अहिलेसम्म बाटो राम्रो बन्न सकेन ।’ स्थानीयले पटकपटक गाउँमा बस संचालन गर्नेगरी सडक स्तरोन्नती गर्न माग गरिरहेका छन् । बर्खाको समयमा पैदल झण्डै तीन घण्टापछि सर्वसाधरण पुर्कोटदह पुग्ने गर्छन् । जंगलको बाटो यात्रा गर्दा घरफर्कदा त्रासमै आउनुपरेको स्थानीयको गुनासो छ ।
अग्लुङबाट सदरमुकाम तम्घास पुग्नका लागि स्थानीयले सडक समस्याले महंगो भाडा बुझाउने गरेको सुनाए । गाउँका अधिकांश सर्वसाधरण बुटवल, काठमाण्डौँ पुग्नका लागि प्यूठानको बाटो रोज्ने गरेको प्रतिक्रिया दिए । सडक स्तरोन्नतीका लागि गाउँपालिकाले विशेष योजना बनाएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । ‘प्रदेश सरकारबाट सिमलटारी–पुर्कोटदह–बाझकटेरी–अग्लुङफेदी सडकका लागि ५० लाख रुपैयाँ बजेट परेको छ’,उनले भने,‘नियमित गाडी चल्नेगरी बाटो बनाउनतर्फ जोड गर्छौ ।’ गाउँपालिकाले दुर्गम क्षेत्रका नागरीकहरुको जीवनस्तर उकास्ने गरी ठोस योजना बनाएर काम गरिरहेको अध्यक्ष दान बहादुर केसीले जानकारी गराए । अग्लुङ, मलायगिरी, सिर्सेनी लगाएत गाउँहरु गाउँपालिकाबाट विकट क्षेत्रमा रहेको उनले बताए ।
No comments:
Post a Comment